प्रथम महाधिवेशन:
२०५३ जेठ ४–५ गते पेसागत ऐक्यवद्धता मन्च, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरी प्रा. हर्षनारायण धौभडेलको अध्यक्षतामा आवद्ध सङ्घ संगठनका अध्यक्षहरु पदेन सदस्य रहने गरी २८ सदस्यीय राष्ट्रिय समिति निर्माण गरी उक्त महाधिवेशनले पेसागत ऐक्यवद्धता मन्च नेपालको नाम परिवर्तन गरी पेसागत महासङ्घ नेपाल (Confederation of Nepalese Professionals- CONEP) को घोषणा गर्यो ।
सेवा सुरक्षा, समान अवसर, सम्वृद्ध जीवन र सुनिश्चित भविश्यका लागि समाजवादको ध्येयका साथ पेसागत महासङ्घ नेपालले आफ्नो लक्ष्ययात्रा तय गरेको थियो । मुलुकको ट्रेड युनियन आन्दोलनलाई कुनैपनि जातियता, क्षेत्रियता, धार्मिक, साम्प्रदायिक प्रभाव वाट मुक्त राखी पूर्ण स्वतन्त्रताका साथ जुझारु अनुशासित र लोकतान्त्रिक एवं श्रमिक वर्गिय आन्दोलनको विकासका लागि अगाडि वढ्ने वाटो तय गरेको थियो ।
आफ्नो स्थापना कालमा निम्न सङ्घ संगठनहरु पेसागत महासङ्घ नेपालमा आवद्ध थिए ।
१ नेपाल राष्ट्रिय शिक्षक संगठन
२ नेपाल निजामती कर्मचारी संगठन
३ अन्तरसंस्थान कर्मचारी सङ्घ
४ अन्तरबैङ्क कर्मचारी सङ्घ
५ डिप्लोमा इन्जिनियर्स एशोसिएशन
६ नेपाल स्वास्थ्य प्रविधिक सङ्घ
७ नेपाल नर्सिङ सङ्घ
८ नेपाल रेञ्जर सङ्घ
९ भूपु राष्ट्रसेवक संस्था
१० नेपाल खाद्य वैज्ञानिक प्रविधिक सङ्घ (नेफोस्टा)– पछी आवद्धता फिर्ता
११ नेपाल सर्भेयर एशोसिएशन
पेसागत महासङ्घ नेपालको प्रथम महाधिवेशनले “मर्यादा, स्वाभिमान र सुरक्षाः एकिकृत शक्ति वर्तमान आवश्यकता” भन्ने नारा तय गरेको थियो । महासङ्घको प्रथम महाधिवेशन पछी २०५६।४।२६ मा कृषि अनुसन्धान परिषद कर्मचारी एशोसिएशन र २०५७।९।६ मा त्रि.वि. प्रगतिशिल कर्मचारी संगठन महासङ्घमा आवद्ध वनेका थिए ।
पेसागत महासङ्घ नेपाल आफ्नो स्थापना कालमा राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भै संचालन भएको थियो भने महासङ्घमा आवद्ध प्राय सवैजसो सङ्घ संगठनहरु राष्ट्रिय निर्देशन ऐन २०१८ तथा सङ्घ संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई क्रियाशिल थिए ।