पुष्पलालका योगदान र वामपन्थी एकता, प्रेमलकुमार खनाल

प्रेमलकुमार खनाल

प्रेमलकुमार खनाल, नेपालको वाम एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पुष्पलालको ३९औं स्मृति दिवस देशव्यापी रूपमा मनाइँदै छ । १५ असार १९८१ मा रामेछाप जिल्लाको भंगेरीमा पिता भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठको कोखबाट जन्मेका पुष्पलालको निधन ७ साउन २०३५ मा नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । पुष्पलालले २००६ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर सामन्तवादविरोधी आन्दोलनको उद्घोष गरे । यसै सन्दर्भमा मुलुकमा २०६२÷६३ मा भएको राजतन्त्रविरोधी जनआन्दोलनले जनविद्रोह हुँदै क्रान्तिको स्वरूप ग्रहण गरेपछि राजा ज्ञानेन्द्रले ११ वैशाख २०६३ मा आन्दोलनकारी समक्ष घुँडा टेकेपछि २ सय ४० वर्षदेखि राज गर्दै आएको सामन्तवादको प्रतिनिधित्व गर्ने राजतन्त्रको अन्त्य भई मुलुकमा गणतन्त्र घोषणा भयो । नेपालको संविधानमा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र सुनिश्चित भएको छ । साथै सामन्तवादका आर्थिक–सामाजिक शोषणका सबै रूपको अन्त्य गरी समाजवाद उन्मुख अर्थनीतिको अवलम्बन गर्ने संविधानमा उल्लेख भएको छ ।
मुलुकमा शान्तिपूर्व तवरले नै परिवर्तन गर्न सकिन्छ र संयुक्त जनआन्दोलनका माध्यमबाट निरंकुशतन्त्रविरुद्ध उथलपुथल ल्याउन सकिन्छ भन्ने मान्यता राख्ने पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेका विचारहरू सुनिश्चित भएका छन् । यसरी, मुलुकमा जुन युगान्तकारी परिवर्तन भएको छ, वास्तवमा यस परिवर्तनको श्रेय पुष्पलाललाई दिनुपर्छ । यस अर्थमा पुष्पलाल नेपालको युगान्तकारी परिवर्तनका विचारक, पथप्रदर्शक र भविष्यद्रष्टा थिए भन्ने प्रस्ट हुन्छ ।

वास्तवमा पुष्पलाल नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी व्यक्तित्व थिए । नेपालबाट सामन्ती शोषण, अन्याय, अत्याचारलाई अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाज स्थापना गर्न शोषित, पीडित वर्गको पक्षमा आवाज उठाउने पार्टीको आवश्यकता रहेको महसुस गरेर उनी माक्र्सवादी विचारबाट प्रेरित भए र नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको आवश्यकताबोध गरे । यस क्रममा सर्वप्रथम विसं २००५ मा माक्र्स एङगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्रको नेपालीमा अनुवाद गरी नेपालमा माक्र्सवादी विचारको ज्योति फैलाउने काम गरे । यसै पृष्ठभूमिमा रहेर १० वैशाख २००६, तदनुसार २२ अप्रिल १९४९ मा भारतको कोलकातास्थित श्यामबजारमा भूमिगत तवरले पुष्पलाल संस्थापक महासचिव र निरन्जनगोविन्द वैद्य, नारायण विलाश जोशी, नरबहादुर कर्माचार्य र मोती देवी (दुर्गा देवी) श्रेष्ठ सदस्य रहेको नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेपछि माक्र्सवादी विचारबाट समाजका लाखांै लाख मानिस प्रभावित एवं आकर्षित भए । समाज विकासलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका साथ विश्लेषण गर्दै समाज विकासको नियमानुसार सामन्तवादलाई खत्तम गरी पूँजीवादी क्रान्ति सम्पन्न गरेर समाजवादी बाटोमा अगाडि बढ्न पुष्पलालले समकालीन नेपालको इतिहास, नेपाली जनआन्दोलनको समीक्षा, मातृसत्तात्मक समाजजस्ता पुस्तकहरू प्रकाशन गरे । पुष्पलालका विचारबाट प्रभावित भएकै कारण मुलुकको कम्युनिस्ट आन्दोलनभित्र झन्डै दुई तिहाई जनमत सिर्जना भएको छ । वास्तवमा पुष्पलालले देखाएको बाटोबाटै मुलुक यतिखेर न्याय र समतामूलक समाज स्थापनाका लागि अगाडि बढेको छ । पुष्पलाल सामाजिक परिवर्तनका संवाहकका रूपमा स्थापित भएका छन् ।

पुष्पलालले नै सर्वप्रथम सामन्ती शासनको तख्ता पल्टाएर नेपालमा जनताको सार्वभौमसत्ता कायम गर्न जनवादी गणतन्त्र स्थापना गर्नुपर्छ भन्ने उद्घोष गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीको स्थापना क्रममै घोषणापत्रमार्फत् गणतन्त्र स्थापनाको आवश्यकता औंल्याएका थिए । उनले कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै उल्लेख गरेका थिए, नेपाल कम्युनिस्ट पार्टी सामन्ती वर्गीय सत्तालाई खत्तम गरी देशमा सर्वहारा वर्गको नेतृत्वमा सम्पूर्ण क्रान्तिकारी वर्ग तथा समुदायको संयुक्त अधिनायकत्वमा एउटा जनवादी गणतन्त्रीय राज्यसत्ता कायम गर्नेछ, जसले सामन्तवाद, साम्राज्यवाद तथा विदेशी पुँजीवादविरोधी संघर्षमा सामेल हुने समस्त क्रान्तिकारी वर्ग तथा जनसमुदायको स्वार्थ रक्षा गर्नेछ । यसरी सामन्तवाद र साम्राज्यवादविरोधी आन्दोलनबाट गणतन्त्र स्थापना गर्ने अभीष्ट लक्ष्य लिएर स्थापना भएको कम्युनिस्ट पार्टीको नेतृत्वमा ६ दशक लामो आन्दोलनको परिणामस्वरूप मुलुकमा सामन्ती शासनसत्ताको युगको अन्त्य गरेर जनता सार्वभौमसत्ता सम्पन्न हुने लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना हुनु आफैंमा ऐतिहासिक महŒवको उपलब्धि हो । २०औं शताब्दीको मध्यतिर पुष्पलालले परिकल्पना गरेका सोच विचारहरू अहिले २१औं शताब्दीको आरम्भमै सफलता हासिल हुन सक्नुले पनि पुष्पलालले नेपालको राजनीतिक व्यवस्थाका सन्दर्भमा जुन विचार, सोच र चिन्तन अगाडि सारेका थिए, ६५ वर्षपछि सार्थक भएको छ । सामन्तवादी युगलाई परिवर्तन गरेर जनताको सार्वभौमसत्ता कायम गर्ने लोकतान्त्रिक गणतन्त्रात्मक युगको थालनी भएको छ । यस सन्दर्भमा पुष्पलाल युग परिवर्तनको संवाहक र युग पुरुषका रूपमा नेपालको वाम एवं लोकतान्त्रिक आन्दोलनमा स्थापित भएका छन् ।

पुष्पलालले जनतालाई राज्यसत्ताको मालिक बनाउन जनता आफैंले आफ्ना प्रतिनिधि रोजेर आफ्ना प्रतिनिधिमार्फत् देशको मूल कानुन बनाउन विधानसभा (संविधानसभा)को आवश्यकतालाई विशेष जोड दिएका थिए । नेपाल कम्युनिस्ट पार्टीको २०१४ मा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनमा समेत संविधानसभाको प्रस्तावलाई पुष्पलालले प्रस्तुत गरेका थिए । पुष्पलालकै विचारका आधारमा नेपालमा संविधानसभाको निर्वाचन भई संविधानसभाबाट जनता सार्वभौम भएको संविधान जारी भएको छ । पुष्पलाल धर्मलाई व्यक्तिगत विश्वासको विषयवस्तु मान्नुपर्छ भन्ने पक्षमा दृढ थिए । व्यक्तिको कुनै धर्म मान्न वा नमान्न पाउने स्वतन्त्रतामा हस्तक्षेप गर्न नहुने भन्दै उनी धार्मिक स्वतन्त्रताको रक्षा गर्नुपर्ने पक्षमा सधैं उभिए । धर्मको नाममा सामन्तवाद र साम्राज्यवादले गर्ने शोषणविरुद्ध लड्नुपर्ने विचार राख्ने पुष्पलालका विचारकै आधारमा राज्यले कुनै धर्मको पक्षपोषण गर्नुहुन्न भन्ने मान्यतामा अहिले धर्म निरपेक्ष राज्य घोषणा भएको छ । पुष्पलाल जातीयता र क्षेत्रीयतावादी सोच चिन्तनका विरोधी थिए । उनी श्रेष्ठ थरको भए पनि कहिल्यै आफ्नो नाम पछाडि ‘श्रेष्ठ’ लेखेनन् । पुष्पलाल नेपाली राजनीति र नेपाली समाजलाई दिशाबोध प्रदान गर्ने असल विचारक एवं समाजशास्त्री पनि थिए । राष्ट्रियता र जनवादलाई नयाँ ढंगले परिभाषित गरेका थिए । ‘राष्ट्रियता भनेको लाखौंलाख झुपडीको एकता र तिनको हकहितको सुरक्षा जनवाद हो’ भनेर अत्यन्तै सरल ढंगले परिभाषित गरेका थिए । पुष्पलालले नेपाली समाजको वैज्ञानिक ढंगले अध्ययन अनुसन्धान गरी विभिन्न कृतिहरू पनि प्रकाशित गरेका थिए ।

पुष्पलाल संयुक्त जनआन्दोलनका प्रणेता थिए । नेपालमा भएको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालका विचारहरू नै स्थापित भएका छन् । २०४६ मा पञ्चायतविरुद्ध वामपन्थी पार्टीहरूको वाममोर्चा र नेपाली कांग्रेसबीच संयुक्त जनआन्दोलन सञ्चालन गर्न सहमत भएपछि सञ्चालन भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय व्यवस्था पुनःस्थापना गर्न सम्भव भयो । यस्तै, २०६२÷६३ मा निरंकुश राजतन्त्रविरोधी आन्दोलनमा पनि वाम एवं प्रजातान्त्रिक शक्तिबीचको सहकार्यबाट संयुक्त जनआन्दोलनको थालनी भयो । त्यसपछि मुलुकमा निरंकुश राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना गर्न सम्भव भयो । यसरी, हेर्दा पुष्पलाल युगान्तकारी परिवर्तनको युग पुरुषका रूपमा नेपाली राजनीतिमा स्थापित भएका छन् ।

यतिखेर संविधानले परिलक्षित गरेको सामाजिक न्यायसहित आर्थिक–सामाजिक रूपान्तरण गरेर मुलुकलाई समाजवादी दिशामा अगाडि बढाउनुपर्ने अभिभारा विशेषतः वामपन्थीहरूको काँधमा आएको छ । तर वामपन्थीहरूबीच अहिले एकता र सहकार्य हुन सकेको छैन । संविधान जारी भएपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनमा संयुक्त सरकार गठन भएको थियो । सरकारका माध्यमबाट संविधानले परिलक्षित गरेबमोजिम सामाजिक न्याय, आर्थिक–सामाजिक रूपान्तरण गर्दै मुलुकलाई समाजवादी बाटोमा अगाडि बढाउन थुप्रै कार्यहरू गर्ने प्रचुर सम्भावना थियो । तर वाम गठबन्धनको सरकार अनायसै टुट्न पुग्यो । त्यस यता वामपन्थीबीच सहकार्य गर्ने वा साझा सरोकारको विषयमा साझा दृष्टिकोणका साथ प्रस्तुत हुने कार्य हुन सकेको छैन । अझ यसो भन्न सकिन्छ, वामपन्थीहरूबीच तीव्र तुष्टीकरणले यथास्थितिवादी र दक्षिणपन्थीहरूले नै भाइ फुटे गवार लुटेझैं गरी फाइदा लिइरहेका छन् । यसको ताजा उदाहरण त स्थानीय तहको निर्वाचनमा आफ्नो हैसियतअनुसार वामपन्थीका बीचमा तालमेल हुन नसक्दा थुप्रै स्थानमा एमालेलगायतका वामपन्थी दलहरूले पराजय भोग्नुप¥यो ।

यतिखेर मुलुकको राष्ट्रियतामा आन्तरिक तथा बाह्य हिसाबले गम्भीर प्रकारको समस्या उत्पन्न भएको छ । नवउदारवादी अर्थतन्त्रका कारण राष्ट्रिय अर्थतन्त्र चौपट बनेको छ । यसकै कारण देशको अर्थतन्त्र परनिर्भर बनेको छ । अभाव, गरिबी, बेरोजगारीको अवस्था भयावह बनेको छ । श्रमिकहरूको जीवनयापन र सामाजिक सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ । श्रम क्षेत्रमा बढ्दै गएको श्रमशोषणका कारण श्रमिकहरू अन्यायपूर्ण जीवनयापन गर्न बाध्य भएका छन् । निजीकरण नीतिका कारण सार्वजनिक संस्थानहरू सुदृढ बन्न सकेका छैनन् । बदलिँदो परिवेशमा संस्थानहरूको भूमिका बढेर गएको छ । जनतालाई छिटोछरितो सेवा प्रदान गर्न स्थानीय तहसम्म संस्थानहरूको सेवा विस्तार गर्न जरुरी छ । यस्तै, सार्वजनिक विद्यालय, क्याम्पस, खानेपानी, यातायात क्षेत्रको सुदृढीकरण गरेर स्थानीय तहसम्म सेवा प्रदान गर्न सके मात्र दुरदराजका जनताले सामाजिक न्याय प्राप्त गर्ने स्थिति बन्छ ।
यतिखेर पुष्पलाल स्मृति दिवस मनाइरहँदा पुष्पलालले देखाएको बाटोबाट मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्न, सामाजिक न्याय प्रदान गर्न र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै मुलुकको राष्ट्रियता, सार्वभौमिकताको संरक्षण र संवद्र्धन गर्न वामपन्थी दलहरूकबीच सहकार्य र एकताको खाँचो छ । वामहरूको एकता र सहकार्यबाट मात्र मुलुक अग्रगमनतर्फ उन्मुख बन्नेछ र समाजवादको आधार निर्माण गर्न सम्भव हुनेछ । यसरी, वामपन्थी दलहरू अगाडि बढ्न सके मात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

स्रोत : राजधानी दैनिक

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विश्व ट्रेड युनियन महासंघको प्रेसिडेन्सियल सदस्यमा नेपालका खनाल निर्वाचित

पुष्पलालका योगदान र वामपन्थी एकता, प्रेमलकुमार खनाल

नेपाल र भुटानको ट्रेड युनियन महासंघको संयोजकमा प्रेमलकुमार खनाल

पेशागत महासंघ नेपाल प्रदेश न ३ को भेला सम्पन्न, २२ माघ २०७३, शनिबार

पेशागत महासंघ नेपालको शुभकामना कार्यक्रम मंगलबार




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602, 4425525 / Fax : 977 01 4435574